काठमाडौं । १९ सिटका लाग हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार कोशीमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसअनुसार सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय तर्फ ८ र अन्य समूहतर्फ २१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले एक्लैले सबै ठाउँमा उम्मेदवार खडा गरेको छ ।
निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । यस्तै पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने आयोगले जानकारी गराएको छ ।

