काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ। शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिका बीच सोमबार बिहान कांग्रेसको संसदीय बोर्डको बैठकले १० जना उम्मेदवार छनोट गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठकले कोसीमा सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असहमति जनाउनु भएको छ । महामन्त्री शर्माले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ? भन्दै प्रश्न गर्नु भएको थियो ।
नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। सरकारमा रहेका दलहरुले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेका छन्। सहमति अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन्।
राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ।
