बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको हो ।
घरटहरा हटाउने अभियानअन्तरगत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ । सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरेपनि स्वतस्फुर्त रुपमा सम्वन्धित ब्यक्तिहरुले सार्वजनिक जग्गामा आफुले निर्माण गरेका टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा उपमहानगरपालिकाले त्यस्ता टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहांका अनुसार हाटबजार लाईनमा टहरा हटाएका सडक क्षेत्रबाहेक बचेको क्षेत्रमा उजिरसिंह फल्चा र रामापिथेकस पार्क निर्माण गरिनेछ ।
यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा समेत हटाउने तयारी गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलमा निर्माण भएका संरचना हटाई त्यस्ता क्षेत्रको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि अतिक्रमित गरी बनाइएका टहरा हटाएर त्यस्ता जग्गामा पर्यटकीय स्थल, पार्क, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनु भयो । प्रमुख पाण्डेका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारीहरु र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ ।