बुटवल । बुटवल उपमहानगरपालिका सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माविले कक्षा चारमा अध्ययनरत एक विद्यार्थीको उपचारका लागि चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । केही महिना अगाडीबाट ब्रेन ट्युमरको समस्याबाट पीडित बनेकी विद्यार्थी क्रिष्टिना थापाको उपचारमा सघाउन विद्यालयले उनका अभिभावकलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले क्रिष्टिनाका अभिभावक बुटवल–६ निवासी दिलबहादुर थापा र रेखा थापालाई सो रकम बरावरको चेक हस्तान्तरण गर्नु भएको हो । चेक हस्तान्तरण गर्दै प्राचार्य न्यौपानेले क्रिष्टिनाको उपचारका लागि ठुलो धनराशी खर्च हुने भएकाले विद्यालय, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीबाट स्वतःस्फुर्त रुपमा संकलन गरिएको चार लाख ७ हजार एकसय रुपैयाँ उनका परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले समस्यामा परेका विद्यार्थी र उनका अभिभावकहरुलाई सहयोग गर्दै आएको विद्यालयले विद्यार्थी क्रिष्टिनाकालागि पनि विद्यालयको पहलमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
अभिभावकका अनुसार केही महिनादेखि ब्रेन ट्युमरको समस्याबाट गुज्रिरहेकी क्रिष्टिनाको गत भदौमा शल्यक्रिया भई हाल फिजियोथेरापी चलिरहेको छ । उपचारमा ठूलो रकम खर्च भएको र अझै धेरै रकम आवश्यक पर्ने हुँदा परिवारले विद्यालयलाई आर्थिक सहयोग जुटाइदिनका लागि आग्रह गरेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले बताउनुभयो । सोही अनुसार विद्यालयबाट सहयोग रकम संकलन गरि अभिभावकलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।