बुटवल । बुटवल स्थित कान्ति माध्यमिक बिद्यालयले ७० औं बार्षिकउत्सवका अवसरमा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम गरेको छ । सप्ताहव्यापी रुपमा आयोजना गरिएको बार्षिकउत्सव मुल समारोह कार्यक्रममा बोल्ने बक्ताहरुले कान्ति माविले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिदै आएको कान्ति माविको बार्षिक उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सिपमुलक र ब्यबहारिक शिक्षाको अभावमा बिद्यार्थीहरु पलायन हुने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । समय सुहाउदो र पछिल्लो पुस्ताको माग अनुसारको शिक्षा प्रदान गर्न नसक्दा युवा पुस्ताले आफ्नो आवश्यक्ता र चाहना अनुसारको अवसरको खोजीमा देश बिदेशका गल्लीहरुमा भौतारिनु पर्ने अवस्था आएको उहांले बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले शिक्षा क्षेत्रको बिकास बिना समग्र समाजको बिकास हुन नसक्ने भन्दै आधुनिक, बैज्ञानिक र जिवन उपयोगी शिक्षाका लागि सामुदायिक बिद्यालयहरुले जोड दिनुपर्ने बताउनु भयो ।

बिद्यालयका अध्यक्ष हेमानन्द शर्माले गुणस्तरिय, सिपमुलक र ब्यबहारिक शिक्षा प्रदान गर्ने बिद्यालयहरुलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने बताउदै बिद्यालयको भौतिक पुर्वाधार बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
बिद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले कान्ति माविलाई बिशिष्टिकृत शैक्षिक संस्थाका रुपमा बिकास गर्दै बिद्यार्थीहरुलाई गुणस्तरीय, सिपमुलक र ब्यबहारिक शिक्षा प्रदान गर्ने लक्ष रहेको बताउनु भयो । कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्ष टंक पराजुली, बुटवल उपमहानगरका निमित्त कार्यालय प्रमुख मित्रमणी खनाल, अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, बिद्यालयका सहायक प्राचार्य पुर्णभद्र उपाध्याय, शिक्षकहरु महेश खनाल, हेमराज खनाल लगाएतले कान्ति माविले शैक्षिक क्षेत्रको बिकासमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।

बार्षिक उत्सव समारोहमा बिद्यालयमा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो भने ७८ जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ठ शिक्षक, उत्कृष्ठ अभिभावक र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो भने शिक्षा क्षेत्रको बिकासमा सञ्चार क्षेत्रबाट उत्कृष्ट योगदान पुराएको भन्दै राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाललाई प्रमाण पत्र र नगद पुरस्कार सहित उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको थियो ।
