चितवन । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ गते देखि सवारी बन्द गर्न लागिएको हो । तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको बताइएको छ ।
पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ( नागढुङ्गा–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । इन्जिनियर कृष्ण आचार्यका अनुसार करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर भित्तो काट्ने काम हुनेछ ।
गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।
सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।