बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारीको क्रममा सुरक्षा प्रवन्धका विषयमा सुरक्षा निकायका प्रमुखसंगको बैठक सम्पन्न भएको छ । बुटवल मण्डपमा आयोजना गरिएको मुल आयोजक समिति र सुरक्षा निकायका प्रमुखहरुसंगको संयुक्त बैठकले मेलालाई व्यवस्थित र सहज अवलोकनको प्रवन्ध मिलाउन सबैप्रकारका उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।
मेला अवधिभर आम दर्शक उपभोक्ता एवं स्टल सहभागीहरुको सुरक्षा व्यवस्थालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने बारेमा जिल्लामा रहेका सुरक्षा निकायहरुसंग छलफल गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनु भयो ।
बैठकमा मेलाको आयोजनाको प्रमुख पाटोका रुपमा रहेको सुरक्षा प्रवन्धमा कुनै प्रकारको कमीकमजोरी र ढिलाई हुन नदिने विषयमा आयोजक र सुरक्षा निकायवीचको समन्वयमा जोड दिइएको छ । मेलामा आन्तरिक र वाह्य सुरक्षाको व्यवस्थालाई कडाई गर्दै मेलामा कुनै प्रकारको कानुनविपरितका क्रियाकलाप गर्न छुट नपाईने कुरामा जोड दिइएको थियो ।
मेला सञ्चालनका क्रममा अवलोकनकर्ता तथा सहभागि स्टलधनीहरुको सबैप्रकारका सुरक्षाको प्रवन्ध मिलाउने दायित्व आयोजकको रहेको हुदा त्यसमा सुरक्षाकर्मीहरु सहयोगि बन्ने प्रतिवद्धता सुरक्षा निकायका प्रमुखहरुले व्यक्त गरेका थिए । उनीहरुले मेला मर्यादित र व्यवस्थित बनाउन प्रविधिको प्रयोगमा जोड दिएका थिए ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेलाको सुरक्षा प्रवन्धका लागि एकिकृत सुरक्षाको प्रवन्ध मिलाउन सुझाव दिदै स्मार्ट सुरक्षाको तयारी गर्न आग्रह गर्नु भयो । अर्यालले नयाँ सोंच र योजनाकासाथ आयोजना गर्न लागिएको मेलाको सफलताले यस क्षेत्रको समग्र विकासको सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भएको थियो । उहाले मेलामा सुरक्षा निकायहरुसंगको समन्वयमा सबै प्रकारका तयारीसाथ काम अगाडी बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा मेलामा हालसम्म भएका तयारीका बारेमा जानकारी गराउदै मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले आयोजनाका क्रममा मानविय तथा भौतिक संरचनाका साथै मेलामा राखिएका औद्योगिक उत्पादनहरुको सुरक्षाको प्रबन्ध गर्ने क्रममा कुनै पनि कमी हुन नदिन प्रतिवद्धता जनाउनु भयो ।
घिमिरेले सुरक्षा व्यवस्थालाई गम्भिरतापूर्वक लिदै त्यसका लागि सुरक्षाकर्मीसंगको समन्वय र परिचालन, सिसी क्यामराको जडान र सूचनाको राम्रो प्रवन्ध गर्ने योजना तय भएको जनाउनु भयो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले मेला सबैको साझा कार्यक्रम भएका कारण मेलालाई सफल बनाउन सबैले जिम्मेवारी बहन गर्नु पर्ने धारणा राख्नु भयो । उहाले मेलामा सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायको सबै प्रकारको सहयोग जरुरी भएको धारणा व्यक्त गर्नु भयो ।
संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेलले मेलाको राम्रो सुरक्षा प्रवन्धले मेला सफलतामा सहयोगि भूमिका निर्वाह गर्ने महत्वपूर्ण पाटो भएका कारण त्यसमा कुनै कमि हुन नदिने गरि काम अगाडी बढाएको बताउनु भयो ।
संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले हिजोका दिनमा आयोजना गरिएका मेला महोत्सवमा प्रहरी प्रशासनको सहयोगले कुनै अप्रिय घटना नभएका स्मरण गराउदै प्रहरी प्रशासनबाट यसपटक पनि सोही प्रकारको सहयोग पाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरिक्षक भरतबहादुर विकले सुरक्षाकर्मीले गर्ने काममा कसैबाट व्यवधान नहुने तर संविधान र कानुनले वर्जित गरेका कुनै पनि प्रकारका काम तथा प्रदर्शन गर्न नपाईने हुदा त्यसमा सचेत बन्न आग्रह गर्नु भयो । उहाले शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने सबै प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक होमबहादुर थापाले मेला अवधिभर ट्राफिक व्यवस्थापनमा आवश्यक प्रक्रिया र प्रवन्ध मिलाउने दायित्व पुरा गर्ने विश्वास व्यक्त गर्नु भयो ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्रहरी वरिष्ठ उपरिक्षक हिमालय श्रेष्ठले आयोजकले आफ्नो आन्तरिक रुपमा मिलाएको सुरक्षाको प्रवन्धमा सुरक्षा निकायका अंगहरुले सहयोगी भूमिका निर्वाह गर्ने पैतिवद्धता जनाउनु भयो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले मेला अवधिभर कुनै पनि प्रकारका दुर्घटना हुन नदिन र मदिरा सेवन एवं विक्री तथा जुवा खेलाउने जस्ता काम गर्न पूर्ण प्रतिवन्ध लगाउनेतर्फ आयोजकले ध्यान दिनु पर्ने बताउनु भयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष तथा मुल आयोजक समितिका सहसंयोजक डिल्लीराज भण्डारीले गर्नु भएको थियो ।
यसैवीच मेला तयारीका क्रममा मेला सम्पन्न गर्न गठन गरिएका उपसमितिहरुको बैठक बस्ने र कामको समिक्षा गर्दै बाकि कामलाई छिटो छरितो बनाउने निर्णय समेत गरिएको छ ।