बुटवल, मंसिर १८ गते । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्रको विकल्प खोज्न नसकिने बताउनु भएको छ । लोकतन्त्रको विकल्प खोज्नेहरु यो व्यवस्थाको बिरोधी भएको बताउंदै लोकतन्त्रको विकल्प खोज्नेहरुलाई लिङदेन र कमल थापाको पार्टीमा जान आग्रह गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजले सोमबार बुटवलमा आयोजना गरेको नागरिक सम्वाद कार्यक्रममा बोल्दै पहाडीले लोकतन्त्रलाई बचाउन नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रको विकल्प खोज्नु मुर्खता हो उहाले भन्नुभयो- `राजनीतिक दलका नेताहरुले बाटो बिराएकाले लोकतन्त्र बिरोधीहरु लोकतनत्रको बिरोधमा उत्रन मौका पाए ।´
उहाले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा जान्छु भन्ने बोली र संविधान नमान्ने विप्लव नेकपासंग समाजवादी मोर्चा गठन गर्ने कार्य लोकतन्त्र बिरोधी हो भन्नुभयो । प्रधानमन्त्री र दलका शिर्ष नेताहरु लोकतन्त्र बिरोधी गतिबिधिमा लागेको उहाको आरोप छ ।
दलका शिर्ष नेताहरु भ्रष्ट भएको दावी गर्दै पहाडीले नेताहरु नसुधृय लोकतन्त्र कमजोर हुने भन्दै दलका नेताले राजनीतिलाई कमाउने पेशा व्यवसाय बनाएको टिप्पणी गर्नुभयो । भ्रष्ट राजनीतिले लोकतन्त्र बदनाम भएको उहाको दावी छ ।
नेपालको संसद राष्ट्रिय पञ्चायत जस्तो हुन थालेको उल्लेख गर्दै संसदको कामप्रति असन्तुष्टि जनाउनुभयो । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका मानव अधिकार बादी नेता पहाडीले मानव अधिकार हनन् गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीति पार्टीको कोटाबाट न्यायलयमा मान्छे राखेर देश नचल्ने बताउंदै धर्म र जातजातीको राजनीति कसैले पनि गर्न नहुने बताउंदै उहाले भन्नुभयो- `नेताहरुप्रति जनताको विश्वास घटेको छ । मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउदै गएकाले लोकतन्त्र बचाउन नागरिक सचेत हुन जरुरी छ ।´
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण पराजुलीले नागरिक आन्दोलन सुस्ताउदै जांदा लोकतन्त्रमाथि हममला भएको बताउनुभयो। उहाले लोकतन्त्र जोगाउन दलका नेताहरुको आवाज कमजोर भएको तर्क गर्नुभयो।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार डा. वालकृष्ण चापागाई, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, लेखक ऋषि आजाद, नेपाली कांग्रेसका प्रजापाल गिरी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरज भट्टराई, महिला नेत्री रिता सेन लगायतले बोल्दै लोकतन्त्रको विकल्प खोज्न नसकिने बताउंदै राष्ट्रियताको विषयमा गम्भीर हुन मानव अधिकार तथा शान्ति समाजलाई सुझाव दिदै संघीयतासंगै निर्माण भएका प्रदेश संरचनाले आर्थिक बेथिति मौलाउंदै गएकाले प्रदेश खारेज गर्नुपर्ने बताउन्भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले मानव अधिकार तथा शान्ति समाजले पर्चा छापेर तत्कालिन जनयुद्व गरेको माओवादी र लोकतन्त्रवादी शक्तिलाई कमजोर बनाउन खोजेको दावी गर्नुभयो । शान्ति समाजले छापेको पर्चामा माओवादीसहित लोकतन्त्रबादी शक्तिलाई कमजोर बनाउन खोजिएको भन्दै उक्त पर्चाको विचार स्वीकार गर्न नसकिने बताउंदै सुधार गर्न सुझाव दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता र सचिव कृष्णप्रसाद पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।