बुटवल । नेपाली कांग्रेस लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।
सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गर्नुभयो । ‘संघिय लोकतान्त्रीक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्यो । स्थानीय पार्टी संगठन र कार्यकर्तालाइ कृयाशिल बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ।’ उहाँले भन्नुभयो–‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ ।’
प्रदेश सभापति पुनले संघिय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिनुभयो । प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाब उठेको छ ।
मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । संघ देखि वडा संरचना सम्म अरु पार्टी सँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताउनुभयो ।
मुलुकमा अहिलेका समस्या र उत्पन्न परिस्थितिका कुरालाई सबै मिलेर एकताबद्ध भै समाधान गर्न सबै पार्टी मिलेर जानुपर्छ भन्ने सन्देश सम्मेलनले दिएको छ । यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि काँग्रेस लुम्बिनीले आग्रह गरेको छ । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट सोतह प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने प्रस्ताव कांग्रेस लुम्बिनीले गरेको छ ।
शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । काँग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो । बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि ४ वटा समूहगत छलफल भएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाब व्यक्त गरेका थिए ।
समूहगत छलफलका सुझाबहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए । प्राप्त सुझाबलाई समेत समेटिने गरि प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । शनिवार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेसन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि ७ सय बढिको सहभागिता थियो ।