बुटवल । कोजाग्रत पुर्णिमाको अवसरमा बुटवल देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर ब्यस्थापन समिति बुटवल ११ ले विगत ११ बर्षदेखि सराँय नाँचको आयोजना गर्दै आएको छ ।
पहाडी जिल्लामा मात्रै सीमित रहेको सराय नाचलाई नवदुर्गा मन्दिर ब्यस्थापन समितिले निरन्तरता दिदै आएपछि पछिल्लो समय रुपन्देहीको बुटवलमा पनि योनाच स्थापित बन्दै गएको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच बुटवलमा देखाउन थालेपछि युवापुस्तामा समेत यो नाच प्रति आकर्षण बढ्दै गएको छ ।
सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही तथा दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा नाचिने यो नाच एउटा खेल जस्तो पनि हो ।
पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।
पहाडी जिल्लामा जन्मिए र हुर्किएर यो नाचको ईतिहास र सांस्कृतिक महत्व बुझेकाहरुले बुटवलमा पनि यो नाँच मार्फत् परम्परा र संस्कृतिको संरक्षण गरेका छन् ।
नवदुर्गा मन्दिर परिसरमा दुर्गादेवीका हतियार स्वरुप भाला, खुकुरी,तरबार नचाएर शनिबार दिनभर प्रदर्शन गरिएको हो ।
पञ्चेबाजा सहित सराय नाच नाचिएकोले सो क्षेत्रको माहोल निकै रमाइलो बनाएको थियो । विगत ११ बर्षदेखि सराय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर ब्यवस्थापन समिति बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो ।
परापूर्वकालदेखि नै पहाडी जिल्लाहरुमा सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि बुटवलमा सराँय नाचलाई निरन्तरता दिइएको अध्यक्ष कुवंरको भनाइ छ ।
गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही तथा दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिने र निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजय उत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
बुटवलको सराय नाचले अब नयाँ पहिचान बनाउने बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको भनाइ छ । उहाँले पहाड र तराइ एक आपसमा जोडिएको र सबै प्रकारको कला संस्कृति स्थानान्तण भैरहेको बताउनुभयो ।
नेपाल एकीकरण भन्दा पहिले बाइसे चौबिसे राज्य मध्ये चौविसे राज्य अन्तर्गत गुल्मीमा ६ ओटा राज्य भएको र ती राज्यहरु एक बनाउने क्रममा शक्तिशाली राज्य गुल्मीबाट विजयोत्सका सन्दर्भ मा सराय नाचको सुरु भएको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा.नारायण पन्थको भनाइ छ ।
सराय नाचमा सहभागिहरुले हातमा ढाल, तरबार, खँुडा, खुुकुरी बोकेर नाचिरहेको र नयाँपुस्ता पनि यो नाच प्रति आकर्षित हुनुका साथै यसमा रमाइरहेको उहाँको भनाइ छ ।
पछिल्लो पुस्तालाई सराय नाचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नाच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको समाजका सदस्य रवि पोखरेलको भनाइ छ । सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो ।

त्यस्तै बुटवल १२ नयागाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराय नाच देखाउन शुरु गरिएको मन्दिरका अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो । यस्तै बुटवल १३ जितगढीमा पनि सराँय नाचं देखाइएको स्थानीय ऋषि आजादले जानकारी दिनुभयो ।