देवदह । रुपन्देहीको देवदह नगरपालिकामा अन्तराष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण कार्य शुरु भएको छ ।
देवदह नगरपालिका–८ बिशाल नगर (टटेरा) मा लुम्बिनी बौद्ध विश्व विद्यालय मातहत रहेको ९० विगाहा सरकारी जमिन (वन क्षेत्र) मध्ये ५ विगाहा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्र लगायतका संरचना निर्माण शुरु गरिने भएको हो ।
विपश्यना केन्द्रका शिक्षक गोपाल पोखरेलका अनुसार दुई चरणमा गरी विपश्यना केन्द्रको निर्माण गरिने छ । लुम्बिनी बौद्ध विश्व विद्यालयको सहकार्यमा प्राप्त भएको ५ विगाहा जमिनमा पूर्वाधार निर्माण गर्न थालिएको केन्द्र एक वर्ष भित्रमै सञ्चालनमा आउने छ ।
धम्म ग्राम भित्र पहिलो चरणमा एक सय साधक साधिकाले ध्यान गर्न सक्ने धम्म हल, ५० पुरुष र ५० महिलाको आवासका लागि दुई वटा भवन, भोजन कक्ष, गुरु आवास र स्नान घर निर्माण गरिने छ ।
दोस्रो चरणमा २ सय जना अट्ने ठूलो ध्यान कक्ष, ५०्र५० जना क्षमताका २ ध्यान कक्ष, विपश्यना अनुसन्धान केन्द्र निर्माण गरिनेछ । पहिलो चरणमा २ करोडभन्दा बढी लागतमा पूर्वाधार निर्माण हुने शिक्षक पोखरेलले बताउनुभयो ।
गौतम बुद्धले देवदह सुत्त देशना गरेको स्थानमा विपश्यना केन्द्र निर्माण गर्न लागिएको हो । ध्यान केन्द्र निर्माणमा साधक साधिकाहरुको दान सहयोग रहने छ ।
धम्म ग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष सहित बुधबार ध्यान केन्द्र निर्माण स्थलमा आयोजित कार्यक्रममा बर्माबाट आएका साधक साधिका, भिक्षु भिक्षुणी, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, केन्द्रका शिक्षक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडे लगायतको सहभागितामा परित्राण पाठ गरी भूमिपुजन तथा केन्द्रको शिलान्याश गरिएको थियो ।
केन्द्रका पुराना साधक साधिका (१० दिने शिविरमा बसेका)हरुको दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । देवदहलाई बौद्ध विश्वविद्यालयको सहकार्यमा विपश्यना रिसर्च सेन्टरका रुपमा विकास गर्ने योजना रहेको छ ।
शिलान्याश कार्यक्रम पूर्व निर्माण स्थलमा साधक साधिकाहरुका लागि करिव २ घण्टाको ध्यान शिविर संचालन गरिएको थियो ।
ध्यान केन्द्रको निर्माण पश्चात देश विदेशका साधक साधिकाहरुले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर संचालन गरिने छ ।
विपश्यना ध्यान शिविर संचालनका लागि पनि कसैसंग शुल्क लिइदैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट गरिन्छ । कसैसँग पनि शुल्क लिइँदैन भने धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाहरूले समेत पारिश्रमिक लिंदैनन् ।
जुन वस्तु जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु, बुझ्नु नै विपश्यनाको वास्तविक अर्थ हो । विपश्यना एक ध्यान विधि भएकाले यसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउने केन्द्रका शिक्षक डा. खडानन्द पौडेलले बताउनु भयो ।
शिलान्याश कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले लोप हुंदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भैरहेको बताउनु भयो ।
विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो केन्द्रका शिक्षक मेघराज ज्ञवालीले बताउनु भयो । विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो, ज्ञवालीले भन्नुभयो ।