पाल्पा । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो जीप पुरिदा मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ ।
मृत्युु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीय मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार पाल्पा तानसेनका करिब ३२ वर्षीय यमबहादुर बोहोरा र कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना रहेका छन् ।
पहिरोमा परी स्कार्पियो जीपका चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया संस्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक थापाका अनुसार घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ ।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जीपलाई पाल्पा–तम्घास सडकखण्डको जोर्तेमा सडकमाथिबाट खसेको सुख्खा पहिरोले पुरेको थियो । अफ्ठेरो र कटान भइरहेको मोडमा सडकमाथिबाट ढुङ्गा सहितको पहिरो खसेपछि पाल्पा–गुल्मी सडक खण्ड बन्द छ ।