बुटवल । समाजवादी मोर्चाले आज दिउँसो बुटवलमा सन्देश सभा गर्दै छ । मोर्चाले मंगलबार (आज) दिउँसो १ बजे बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सन्देश सभाको आयोजना गरेको छ ।सभाको व्यवस्थापन नेकपा माओवादीले गरिरहेको छ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव नआउने भएपछि केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका नेता मनिकर कार्कीले जानकारी दिनुभयो ।
मोर्चाले आज लुम्बिनी प्रदेशको बुटवल, भदौ १३ गते सुदूरपश्चिमको धनगढी, भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, भदौ २३ गते वाग्मतीको हेटौंडा र भदौ २५ गते कोशीको विराटनगरमा सभा गर्ने निर्णय गरिसकेको नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य बसन्त श्रेष्ठले जानकारी गराउनु भयो ।
यसअघि मोर्चाले यही भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।
