काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)ले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएको जेठ १२ गते जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. २ बस्ने यदुराज थापाको छोरी बर्ष २५ कि सबित्रा थापा, जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. १ मथुरापाटी बस्ने बर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एक साथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए ।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकी छिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले अपहरण गरी, डोरीले बाधी शाररिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसंग १५ हजार युरो (पन्ध्र हजार) फिरौती माग गरेको भनि पीडितका आफन्तहरूले सीआइवीमा दिएको लिखित निबेदनका आधारमा प्रहरीले यस घटनाको अनुसन्धान गरेको थियो ।
ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी रू २१ लाख ७५ हजार (एकाईस लाख पचहत्तर हजार) नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले यही भदौ २ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ८ गौरिघाट डेरा कोठाबाट फिरौती रकम समेत बरामद गरी पक्राउ गरेको थियो । यस्तै ग्रीसमा बन्धक बनाई राखेका पिडितहरू समेतलाई सकुशल उद्दार गर्न नेपाल प्रहरी सफल भएको छ । प्रहरीका अनुसार पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको छ ।
घटनामा संलग्न नेपालमा फिरौती रकम लिने जिल्ला धनकुटा साविक लेगुवा गा.वि.स. वडा नं. ७ घर भई हाल परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ को शिव राज कुँवर, जिल्ला काठमाण्डौ तार्केश्चर–५ कुमालटार बस्ने बर्ष ५६ बर्ष रामेश्वर अर्याल, जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा नं. १ घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा दुवई बस्ने बर्ष ३२ को प्रकाश बेलबासे र जिल्ला पर्वत, फलेवास नगरपालिका वडा नं. १ शंखपोखरी बस्ने बर्ष ४२ को दिल बहादुर थापालाई प्रहरीले पक्राउ गर्न सफ भएको छ ।
प्रहरीले नेपालमा फिरौती रकम लिने कुँवरलाई भदौ २ गते काठामाडौं गौरीघाटबाट, नेपालमा फिरौती लिएको रकम शिवराज कँवरसंग लिन सम्पर्क भएको ब्यक्ति अर्याललाई भदौ ३ गते तार्केश्वरबाट, दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने बेलवासेलाई भदौ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट र दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिने दिलबहादुर थापालाई भदौ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरेको हो ।
साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैदेशिक रोजगारीको लागी बिदेश जादाँ नेपाल सरकारको श्रम स्वीकृती भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पुरा गरी मात्र जान आम नागरिकमा अनुरोध गरेको छ । हालका दिनहरूमा यस्ता घटनाबाट धेरै नेपाली दाजुभाई दिदि वहिनीहरू पिडित भएकोले गैर कानुनी रूपमा बिदेश जाँदा हुन जाने यस्ता घटनाको अनुसन्धान तथा उद्दार गर्न जटिल रहेको समेत केन्द्रीय अनुसन्धान व्यूरोले सुचित गराएको छ ।