बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको विकास र समृद्धिका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
शुक्रबार प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले बुटवलमा आयोजना गरेको मिडिया सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले मिडिया बलियो भएमात्रै लोकतन्त्र बलियो हुने भन्दै मिडिया बलियो भए सरकार पनि बलियो हुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले मिडियाको सवलीकरणको लागि प्रदेश सरकारले के गर्नु पर्छ, सुझाव दिन आग्रह गर्नुभयो । सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्दै उहांले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनुभयो ।
‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ । तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ’, मुख्यमन्त्री चौधरीले भन्नुभयो–‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन । आलोचनात्मक लेख्नुस् । तर, कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’
प्रदेश सरकारको वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको सम्भावना रहेको उहांले दावी गर्नुभयो । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु छन्, चौधरीले भन्नुभयो–‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’
व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै उहांले सञ्चारमाध्यमलाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
सम्मेलनमा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांण, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाईं, जगदिश भट्टराई लगायतले सञ्चारमाध्यमहरुले बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरको अध्यक्षता र सचिव माधव नेपालको संचालनमा भएको सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
मोफसलका मिडियाहरुको सबलिकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायतका विषयमा शनिबार बसन्तपुर घोषणापत्र जारी गरी सम्मेलनको समापन गरिने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका उपाध्यक्ष विष्णु भुसालले जानकारी दिनुभयो ।