बुटवल । बुटवलमा हुने मिडिया सम्मेलनको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित भोली (शुक्रबार) मिडिया सम्मेलन गर्न लागिएको हो ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागि हुने गरी यही भदौ १ गते पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो । “सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ”–उहांले भन्नुभयो ।
सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहने छ ।
मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका उपाध्यक्ष बिष्णु भुषालले बताउनुभयो ।
संघका सचिव माधव नेपालका अनुसार सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
तिलोत्तमा नगरपालिकाको योगीकुटीस्थित होटल पौवामा आयोजना गरिने मिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीकुमार चौधरीले गर्ने कार्यक्रम तय भएको छ ।
