दाङ । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँगाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनु भयो । जसका लागि प्रदेश सरकारले डेढ अर्व बजेट विनियोजन पनि गरिसकेको छ ।
सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई एउटा रोल मोडेलको रुपमा अघि बढाउन थालिएको जनाएको छ । जसमा महिला र युवालाई बिशेष प्राथमिकतामा राखेर रोजगारीका अवसरहरु सृजना गरिने छ ।
गत बैशाख १५ गते लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भएको एक सय एक दिन पुगेको सन्दर्भमा उपलब्धी सार्वजनिक गरिएको हो । जसमा कानुन निर्माण तर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेको देखि भौतिक पूर्वाधार तर्फ भएका प्रगतिहरु रहेका छन् । यो सय दिनमा एक सय ७५ किलोमिटर सडक कालोपत्रे भएको, एक सय ५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्कि सडक सम्पन्न भएको योजना सार्वजनिक गरिएको छ । प्रदेश सरकार लयमा हिडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्नेगरी काम भइरहेको प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पुरा भएपनि सरकारले भने अझैं पूर्णता पाउन सकिरहेको छैन् । मन्त्रालय फुटाएर भएपनि सरकारलाई पूर्णता दिने खबरहरु सार्वजनिक भइरहदा सरकारले भने कामको आधारमा मन्त्रालयहरु थप घट हुन सक्ने जनाएको छ ।