पाल्पा । सोमबाररातीदेखि परेको अविरल वर्षा संगै ठाउँ ठाउँमा पहिरो जांदा लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाहरुका सडक अवरुद्ध भएका छन् । पहिरोका कारण बुटवल–पाल्पा, कपिलवस्तु–अर्घाखाँची तथा प्यूठानका मुख्य सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पहिरोले एकतर्फी मात्रै सञ्चालन भएको छ । बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा, झुम्सा, गौडे पुल लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएपछि खुलाउने प्रयास जारी रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । उक्त स्थानमा अहिले एकतर्फी सडक सञ्चालन भएको छ ।
यस्तै कपिलवस्तुको गोरुसिंगे सन्धिखर्क जोड्ने सडक अवरुद्ध भएको छ । अर्घाखाँची सितगँगा नगरपालिका–२ भुवनपाटामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण सिद्धार्थ राजमार्ग,कालीगण्डकी करिडोर र पाल्पा–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।
सिद्धार्थराजमार्ग अन्तर्गत पानीमिल, हिउँदेखोला, डुम्रेलगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएका छन् । प्रहरीका अनुसार बर्तुङदेखि डुम्रेसम्म पनि ठाउँठाउँमा पहिरो खसेको छ ।
पाल्पा–गुल्मी सडकअन्तर्गत तानसेन नगरपालिका–५, कैलाशनगर बतासेडाँडा नजिकै सल्लाका रुख ढलेर सडक अवरुद्ध भएको छ । तानसेनको डम्पिङ साइटनजिकै ६ वटा सल्लाका रुख ढलेको प्रहरीले जनाएको छ ।
यसैगरी गुल्मीका रुद्रवेणी–सत्यवतीको सडक पहिरोले अवरुद्ध बनेको छ । यससँगै पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा पहिरोका कारण भित्री सडकहरु अवरुद्ध भएका छन् । त्यस्तै, पहिरोले कालिगण्डकी करिडोर अन्तर्गत राम्दी–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ चाँदी खोलामा सडक माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
प्युठानको माण्डवी गाउँपालिका १ गर्जेनीमा सडक माथिबाट लेदो र ढुङ्गासहितको पहिरो झरेपछि भालुबाङ–प्युठान सडक खण्ड अवरुद्ध भएको छ । सवारी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।