तिलोत्तमा । बी.पी.स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा काँग्रेस रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. ११ भू.पू. सैनिक स्थित सुखौरा हरियाली सामुदायिक बन उपभोक्ता समूहको भवन निर्माणस्थल परिसरमा बृक्षरोपण गरेको हो ।
बृक्षरोपण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले काँग्रेस कमजोर हुँदा देशको भविष्य पनि अन्यौल देखिएको बताउनु भयो । उहाँले देशमा जति नयाँ पार्टी आएपनि देश बनाउने मामिलामा काँग्रेस जस्तो अब्बल र सक्षम कोही पनि नभएको बताउँदै देशको भविष्यसँग जोडिएको नेपाली काँग्रेसलाई सबै एकजुट भएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा पुर्व राज्यमन्त्री भरतकुमार शाहले गुट उपगुटका नाममा पार्टी कमजोर हुँदै गएको बताउंदै पार्टीलाई बलियो बनाउनको लागि गुट उपगुटको अन्त्य हुनुपर्ने भनाई राख्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस बलियो हुदा मुलुकको लोकतन्त्र र संविधान पनि बलियो हुने बताउदै पार्टीका नेता कार्यकर्ता र आम नागरिकको भविष्यको लागि पनि गुट उपगुट त्यागेर पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य बालकुमारी भण्डारी, तेजबहादुर कुवँर, जिल्ला सचिव परमानन्द भट्टराई, हरिप्रसाद काफ्ले लगायतले बी.पी.ले अवलम्वन गरेको प्रजातान्त्रिक समाजवाद र देखाएको बाटोबाट अहिले नेता कार्यकर्ता विचलित भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बेल्ने वक्ताहरुले बी.पी. स्मृति दिवसमा हरेक वर्ष वृक्षरोपण गरिएपनि रोपिएका विरुवाको संरक्षणमा कसैको ध्यान नपुगेको भन्दै रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरेका थिए ।