बुटवल । सरकारले आर्थिक वर्ष २०८० । ८१ को वजेट मार्फत ढुवानी सेवामा मूुल्य अभिबृद्धि कर भ्याट लागु गर्ने घोषणा गरेसंगै अन्यौलमा रहेका ढुवानी व्यवसायीलाई वास्तविकता जानकारी गराउन पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले शुक्रवार व्यवसायी भेला सम्पन्न गरेको छ । सरकारले ल्याएको आर्थिक ऐन अन्र्तगत वार्षिक रुपमा ५० लाखभन्दा बढीको कारोवार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य रुपमा भ्याटमा जानु पर्ने बाध्यकारी नियम ल्याएको छ ।
भेलामा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले व्यवसायीले भ्याटमा जांदा अपनाउनुपर्ने तरिका, विलविजक राख्ने तरिका, आम्दानी खर्चको लेखाको वारेमा जानकारी गराउनु भयो ।
कर अधिकृत सुवेदीले सरकारले ढुवानी व्यवसायीलाई व्यवस्थित गराउनकालागि ल्याएको आर्थिक ऐनको निर्देशिका अझै आईनसकेकोले सो ऐन आएपछि मात्र आगामी दिनमा व्यवसायीलाई कसरी भ्याटमा सहजिकरण गर्न सकिन्छ भन्ने स्पष्ट हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले ल्याएको नीतिलाई व्यवहारमा कसरी सहज रुपमा लागु गर्न सकिन्छ भन्ने वारेमा विभागसंग छलफल भैरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष लोकराज पोखरेल,पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव हरिप्रसाद कंडेल, व्यवसायी पंकज राई, जितबहादुर भाट, लगायतले व्यवसायीलाई सहज र सुलभ तरिकाले व्यवसाय संचालनगर्न पाउने व्यवस्था मिलाउन माग गर्नुभएको थियो ।