बुटवल । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री समेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए ।
गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई एमाले नेता यादवले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो । त्यसपछि गत निर्वाचनको बेला एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।