पाल्पा । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्ने बताउनु भएको छ । उहांले ललिता निवास जग्गा काण्डमा आफ्नो नाम जोडिएको तर अपव्याख्या गर्न नहुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलन कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले भन्नुभयो–‘मैले कुनै गल्ती गरेको छैन, छानविन गरेर दोषी माथी कारवाही गर्नुपर्छ सरकारले देशभरीका सरकारी जग्गाको छानविन गर्नुपर्दछ ।’
देशमा व्यवस्था परिर्वतन भएपनि जन अपेक्षा अनुसार परिवर्तन हुन नसकेको बताउंदै उहांले देशमा थुप्रै समस्याहरु रहेको, संघियता अनुरुप काम हुन नसकेको र जनताले संघियताको महशुस गर्न नपाएको उल्लेख गर्नुभयो ।
अहिलेको गठवन्धन ५ बर्षसम्म टिक्ने गरी छलफल र संवादबाट अगाडी बढेको उहांले बताउनु भयो । बजेट निर्माणमा प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीले आफुखुसी सरकारको बजेट बाँड्ने चलन रहेकाले त्यसलाई रोक्नुपर्ने बताउनु भयो । बजेट निर्माणमा सरकारसंग आफ्नो पार्टीले असन्तुष्टि जनाएको भएपनि सुधार गर्दै लैजाने सहमति भएपछि वजेटको समर्थन गरेको नेता नेपालले बताउनु भयो ।
नेकपा एसका अध्यक्ष नेपालले एमाले सरकारमा पुगेपनि ढंग नपु¥याएको र चुनावपछि एमाले प्रमुख सत्ता साझेदार भएर पनि आफ्नो अहंकारले प्रतिपक्षमा खुम्चिनु परेको टिप्पणी गर्नुभयो ।