तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा १—४ रुपन्देहीले सेवा क्षेत्रका पशुपालन ब्यवसाय गर्दै आएका किसान उपभोक्ताहरुका लागि पशुपालन सम्वन्धि तालिम सञ्चालन गरेको छ ।
पशुपालन ब्यवसाय गर्दै आईरहेका किसान उपभोक्ताहरुलाई ब्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने, उत्पादन लागत कम गर्दै बढि मुनाफा कसरी आर्जन गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वन समूहका अध्यक्ष रबिन्द्र बस्नेतले बताए ।
मंगलवार र बुधबार दुई दिनसम्म सञ्चालन हुने तालिमको शुभरम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वनलाई आयआर्जन संग जोडेर युवा र महिलाहरुलाई रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । पशुपालन ब्यवसायसंग वनको आवश्यक्ता र महत्व जोडिएको र वनको सेवाक्षेत्रका धेरैजसो उपभोक्ताहरु पशुपालन र कृषि पेशामा जोडिएका हुनाले पशुपालनमा लागेका किसानहरुका लागि तालिम उपलब्धीमुलक हुने उनले वताए ।
“वन समूहका कारण हरियाली पवद्र्धन, वातावरणीय स्वच्छता, जंगल र जमिनको संरक्षण भएको छ, उनले भने—वन जंगलले पशुपालन र कृषिलाई समेत टेवा पुर्याएको छ, अव वनलाई पर्यटन संग जोडेर अगाडी बढ्नु पर्छ ।” नगर भित्रका किसानहरुलाई पशुपालन र कृषिमा आत्निर्भर बनाउन दुधमा प्रति लिटर रु. १ र सामूहिक कृषि खेती गर्ने किसानका लागि तिलोत्तमा नगरपालिकाले ५० प्रतिसत अनुदान दिने ब्यवस्था गरेको नगर प्रमुख खाँणले वताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख(डिएफओ) प्रभाथ सापकोटाले पशुपालन संग कृषि र वन संग पशुपालन जोडिएकाले वनलाई वनकै रुपमा राखेर वनको खाली ठाउंमा डाले घांस र भुई घासको खेती गर्न सकेमा यसले पशुपालनलाई टेवा पुर्याउनुका साथै रोजगारीको समेत सिर्जना हुने वताए ।
उनले नेपालमा मासु, अण्डा र दूधको खपत जुनअनुपातमा बढेको छ सो अनुपातमा उत्पादन हुन नसकेको परिवेशमा सामुदायिक वनले दिने यस्ता तालिमले पशुपालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्ञान र सिपको विकास हुनुका साथै उत्पादन वढाउन समेत टेवा पुग्ने बताए ।
सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला ज्ञवाली, कोषाध्यक्ष भुवन आचार्यलगायतले बोल्दै वन समूहले सेवा क्षेत्रका कृषि तथा पशुपालन ब्यवसायमा लागेका किसान उपभोक्ताहरुको सिप र दक्षता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
३५ जना पशुपालन ब्यवसाय गर्ने किसान उपभोक्ताहरु सहभागि दुई दिने तालिममा पशु विज्ञ डा. लक्ष्मण घिमिरे र देबिप्रसाद घिमिरेले पशुपालनमा उत्पादन लागत घटाउने, मुनाफा बढि गर्ने, पशुमा लाग्ने सामान्य रोग ब्याधीको उपचार गर्ने र रोग लाग्न नदिन अपनाउनु पर्ने विधिका विषमा सहजकरण गरेका छन् ।
