भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा भएका विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक भरत बहादुर विकले जानकारी दिनुभयो ।
उनीहरुबाट लु८५प ६१२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल १÷१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १र१ थान बरामद गरिएको उहांले बताउनु भयो ।
गत वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका ४ स्थित गाउँपालिकाका प्रमुख थानेश्वर घिमिरेको घर पछाडि राखिएको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो । गत असार १ गते नै सिद्धार्थनगर नगरपालिका ४ स्थित भैरहवाप्रसाद कलवारको दाना कारखाना गोदामको कम्पाउन्ड पर्खाल बाहिर प्रेसर कुकर बम विष्फोटन भएको थियो ।
त्यस्तै असार १ गते नै रुपन्देहीको मायादेवी गाउँपालिका ८ स्थित सिटि हस्पिटल पछाडी खाली खेतमा प्रेसर कुकर बम विष्फोट भएको थियो । यी तीनवटै घटनामा उक्त समूहको संलग्नता रहेको दाबी गर्दै सियारी गाउँपालिका अध्यक्ष घिमिरे र व्यवसायी कलवारलाई मधेश पिपुल्स पार्टीको नामबाट फोनमार्फत फिरौती रकम माग गरी धम्की दिएको एसपी विकले बताउनुभयो ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशीले अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न र तस्करी नियन्त्रणमा प्रहरीले धेरै सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।