बुटवल । बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो ।
शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण समेत शुरु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरवासीको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने जानकारी गराउनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा स्वास्थ्य शिविर सञ्चालन गरिने उहांले बताउनुभयो ।
‘बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं–नगर प्रमुख पाण्डेले भन्नुभयोे–यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ ।’
आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी भईरहेको पनि उहांले बताउनुभयो । नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने जानकारी गराउनुभयो ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याल, स्थानीय समाजसेवी आनन्दमान शाक्यलगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।
शिविरमा प्रसुति रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, डा. बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा.सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने समेत उहांले बताउनुभयो ।
