बुटवल । अर्काको नामबाट लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोहि ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिई बेईमानी पुर्वक लोक सेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेको आरोपमा दुबैजनालाई नियन्त्रणमा लिई “लिखित सम्बन्धी कसूर” शिर्षकमा मुद्धा दर्ता गरिएको छ ।
उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
