बुटवल । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदै छ ।
बिश्व पर्यावरण प्रति विश्वमै राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।
