भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले सुन चाँदीका गरगहना चोरी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मिति २०८०।०२।१० गते दिनको १३ः३० बजेको समयमा जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित मोहम्मद कुद्धुस मुसलमानको घरमा यही जेठ १० गते दिउसो ताला फोडी सुन चाँदीका बिभिन्न गरगहना तथा नगद रकम चोरी भएको थियो ।
चोरीको सूचना प्राप्त गरेको रुपन्देही प्रहरीले जेठ १९ गते भारत जिल्ला महाराजगंज थाना फरेन्दा घरभई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बस्ने वर्ष ३४ को सुधिर कुमार यादव र पविर्तित नाम भैरहवा ४६लाई चोरीका सामान सहित पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट सुनको जस्तो देखिने पहेलो धातुको हार ३१.६७ ग्रामको थान १, सुनको जस्तो देखिने पहेलो धातु मागरिका ९.४८ ग्रामको थान १, सुनको जस्तो देखिने पहेलो धातुको कटौरी बाली ३.८९ ग्रामको थान २, सुनको जस्तो देखिने पहेलो धातुको ढंके फुलि ०.१९ ग्रामको थान २, सुनको जस्तो देखिने पहेलो धातुको जलिदार फुलि १.७२ ग्रामको थान ५, सुनको जस्तो देखिने पहेलो धातुको (ॐ) लेखेको लकेट ०.५६ ग्रामको थान १, चाँदी जस्तो देखिने सेतो धातुको पायल १४३ ग्राम थान २ र चाँदी जस्तो देखिने सेतो धातुको खुट्टामा लगाउने पायल १०० ग्राम थान २ बरामद गरेको छ ।
