पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पालिकाको सत्यवती स्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना तर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।
प्रवक्ता थापाका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।