बुटवल । नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गरेको आरोपमा रुपन्देहीमा दुई युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मुख्तार पठान र सोही ठाउँ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।
प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको भोड्का १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्याक चिम्नी ब्राण्डको १ बोतल नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको छ ।
सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।
बजारमा नक्कली मदिरा बिक्री भएको गुनासो बढेपछि मदिरा ब्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जादा नक्कली मदिरा बिक्री बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो,’ मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनीहरुद्वारा बिक्री गरिएको मदिरा फेला परेपछि प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।’
सिग्नेचर, ओल्ड दरवार, एटएटफोरएट ब्राण्डका मदिराहरु बजारमा अभाव भईरहेको समयमा विभिन्न होटलहरुमा सोही मदिरा सस्तो मुल्यमा विक्री भइरहेको भन्ने सूचना पाएपछि स्थानीय मदिरा व्यवसायी यसको निगरानी र अनुगमनमा लागेका थिए । सोही क्रममा करिव ३३ हजार रुपैंयाँ बराबरको अवैध मदिरा, नक्कली स्टिकर र सक्कली मदिराका खाली बोटल बरामद गरी ब्यवसायीले प्रहरीलाई बुझाएका हुन् ।
यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्टिलरीका क्षेत्रिय बिक्री प्रवन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ ।
पक्राउ परेका दुवै आरोपीलाई बरामद सामान सहित थप कारबाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।