बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु नेपाली कांग्रेसका प्रदेश उपसभापति समेत रहेका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विना विभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मेवारी पाएका थिए ।
लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मन्त्री छनोटमा नेपाली कांग्रेस र माओवादीवीच आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछि चयन गर्ने बताइएको छ । माओवादीबाट कृष्णा के सी नमुना र दीपेन्द्र पुनको नाम चर्चामा छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।