दाङ । दाङमा आज बिहान भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार दुर्घटनामा परी रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियारको मृत्यु भएको हो । प्रहरी प्रवक्ता गौतमका अनुसार दुर्घटनामा ज्यान गुमाएकी शोभाका दुई छोरा पनि घाइते भएका छन् ।
बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्कंदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रिजाल गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगन्ज पठाइएको छ ।