भैरहवा । ओमसतिया गाउँपालिकाले वडा नम्बर १ ठुठिपिपलमा रहेका ब्यवसायीक पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग ब्यवसाय, संघ संस्था तथा राजस्व शाखाकी अमृता पाण्डे लगायतको टोलीले अनुगमन गरेको हो ।
गाउँपालिकामा सञ्चालित ब्यवसाय मापदण्ड पुरा गरे÷नगरेको, दर्ता भए÷नभएको, गुणस्तर, मूल्यसूचि लगायतको बिषयमा अनुगमन गरेको थियो । अनुगमन समिति संयोजक चौधरीका अनुसार यसलाई अब निरन्तर रुपमा अगाडी बढाईने छ । “वडा नम्बर १ देखि अनुगमनको सुरुवात गरेका छौं, यसलाई क्रमशः अन्य वडामा लैजाने छौ ।” उनले भनिन्, “अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका धेरै ब्यवसाय भेटियो, पहिलो पटक भएकोले दर्ता गर्ने निर्देशन सहित छोडेका छौं ।”
चौधरीले गाउँपालिका अन्तर्गतका सबै उद्योग, ब्यवसायीक संस्थान लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गरिन् । गाउँपालिकाको आन्तरिक राजस्व तर्फ ब्यवसाय दर्ताले बिशेष महत्व राख्ने उपाध्यक्ष चौधरीको भनाई छ । योजना र बजेट खोज्ने नागरिकले नियम अनुसारको कर तिर्ने दायित्व पनि पुरा गर्न उनले आग्रह गरिन । आगामी दिनमा पालिका अन्तर्गतका अन्य निकायमा पनि कडाईका साथ अनुगमन गरिने उनले बताईन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले पालिकामा सबै ब्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । क्षेत्रीले पनि समयमै पालिकामा ब्यवसाय दर्ता गरि गाउँपालिकालाई सहयोग गर्न आग्रह गरे ।