बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राप्रपा भने तटस्थ बसेकाे छ । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण पछि गरेका थिए ।
चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री छन् ।
प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन् । चौधरी विश्वासको मत पाएपछि मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छन ।
कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाका अनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेकाले अब सरकार विस्तारका विषयमा छलफल सुरु हुने छ । सरकार विस्तारका लागि गठबन्धनमा रहेका साना ठूला सबै दलबीचमा सहमति जुटाउनु पर्ने भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ ।