बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले वुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ११.३० बजे पद तथा गोपनियताका सपथ गराउँदै छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सपथसँगै मुख्यमन्त्री चौधरीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३÷३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।
गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन् ।
