पाल्पा । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरिएको छ ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार विहान सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको पालपा प्रहरीले जनाएको छ ।
घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए ।
प्रहरीका अनुसार बस भीरमा अड्किएको अवस्थामा छ । बसमा यात्रु कति थिए भन्ने यकिन भइनसकेको र अन्य यात्रुको उद्धार भइरहेको छ । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।