काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। प्रज्ञा भवन कमलादीमा विहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी ६० पदमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ जना, वस्तुगततर्फ १ सय २३ र एसोसिएट तर्फ १७ सय ६२ जना मतदाता रहेका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन् ।
वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ–आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् । जिल्ला नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान, सकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन् ।
एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ मैदानमा छन् । उम्मेदवारहरुले उद्योग व्यवसाय गर्न सहुलियतको ऋणदेखि १ खर्ब डलरको अर्थतन्त्र बनाउन महासंघले लिने रणनीतिको पैरवी गर्नेसम्मका प्रतिबद्धता जनाएका छन् । महासंघकै भिजन पेपरले अघि सारेका अवधारणा सबैजसोका चुनावी मुद्दा बनेका छन् । अतिरिक्त २२ लाख नयाँ रोजगारी, ऊर्जा विकास, पर्यटनमा नयाँ पूर्वाधार थप्ने गरी लगानी भित्र्याउनेलगायत प्रतिबद्धता उम्मेदवारहरुले उठाइरहेका छन् ।
लगानी भित्र्याएर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन निजी क्षेत्रको अग्रणी भूमिका हुन्छ । देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा हुन लागेकाले पनि महासंघको चुनावलाई महत्त्वका साथ हेरिएको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन् । थाहा खबर
