भैरहवा । उप–प्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताएका छन् । मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न नमिल्ने जिकिर गरे ।
प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न नसकिने बताए । नागरिकता बिहिन भएको पिडा हामीले बोध गर्न सक्नुपर्छ, उनले भने–‘संविधान अनुसार नागरिकता पाउने गरि बनाईएको विधेयक अगाडी बढाउछौं ।’
नागरिकता सम्बन्धित केही बिषयमा राष्ट्रिय सहमति गर्नुपर्ने भएकाले त्यसबारेमा सबै राजनैतिक पार्टी एवम राष्ट्रिय जिवनका महत्वपूर्ण ब्यक्तित्वहरुसंग छलफल गरिने उनले बताए ।
मन्त्री श्रेष्ठले संविधान सभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजन गर्ने २ प्रक्रिया सकेको र संक्रमणकालीन न्याय सम्बन्धि काम बाँकी रहेकोले यसलाई पुरा गरिनुपर्ने जोड दिए ।
मन्त्री श्रेष्ठले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरेर अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धिमा फड्को मार्न सकिने बताउदै एक दुई दिनमै अर्थतन्त्रको समस्याहरु पहिचान गर्न र यसको समाधानको उपाय बारे बिज्ञहरु सहित बैठक बस्ने तयारी भई रहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले आफुले गृहमन्त्रालय सम्हाले देखि नै आन्तरिक सुशासन र बाह्य सुशासनमा जोड दिएको बताए । प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाव र अन्य दबाबले भूमिका खेल्न नपाओस भन्ने कुरामा आफु सतर्क रहेको उनको भनाई छ ।