अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर १२ कुंडुलेमा गुराँस जंगल रिसोर्ट र एग्रो फार्मले सेवा शुभारम्भ गरेको छ ।
गोरुसिंगे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुंडुले जंगलमा आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे, नेपालमै पहिलोपटक स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड ) र घोडचढी सेवासहितको रिसोर्ट सञ्चालनमा आएको हो ।
गुल्मीका ४ जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको ८ करोडको लगानीमा १ सय रोपनी जग्गामा बनेको रिसोर्ट तथा एग्रो फार्ममा १० वटा वातानुकुलित आवासिय कोठा र बालउद्यान पनि छ । रिसोर्टले आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरा पालन पनि गरेको छ ।
कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज संचालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा बिभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताउनुभयो ।
‘ग्राहकलाई आफ्नै उत्पादनको स्वाद र साहसिक मनोरन्जन सहित जंगलमा आकर्षक र सुविधायुक्त पर्यटकीय गन्तव्य बनाउन खोजेका छौं’–भुसालले भने–‘अर्घाखाँचीमा सुपा देउराली मन्दिर पछि आकर्षक पर्यटकीय गन्तब्य बनाई भारतीय पर्यटकलाई भित्राउने लक्ष्य छ ।’
कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाटका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपंक्षि प्रा.लि.ले बजारिकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्ट सहित सय वटा बाख्रा, १५ सय कालिज र २ हजार रैथाने कुखुरा पालन गरेको रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

