बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी) ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिलाई राजनीतिक बेईमानीको संज्ञा दिनुभएको छ । बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिँदै एमाले उम्मेदवार पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवललाई तोक्न सकिने बताएको सन्दर्भमा वोल्दै गठवन्धनका साझा उम्मेदवार थापाले यस्तो वताउनु भएको हो ।
शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै थापाले हरेक हिसाबले रुपन्देही जिल्ला राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारेको बताउँदै भोट कै लागि राजधानी सार्ने झुटको खेती गरेको बताउनुभयो ।
‘समग्र रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला हो, यहाँ भौतिक संरचना समेत तयार छ, तर एमालेका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थका कारणले पुर्वाधार नै नभएको राप्ती पु¥याए ।’ उहांले भन्नुभयो– ‘बहुमत दिएर जिताएका मतदाताको अपमान गरेका नेताले अहिले फेरि राजधानीकै विषयमा अनर्गल प्रचार गरिरहेका छन्, यो कुरा जनताले बुझ्नुपर्छ ।’
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारको रुपमा रुपन्देही २ मा घर चुनाव चिन्हबाट थापा चुनावी मैदानमा रहनुभएको छ ।
यस्तै प्रदेशसभा २(१)मा नेपाली कांग्रेसका दीर्घबहादुर केसी(कुमार) रुख चिन्हबाट र प्रदेशसभा २(२)मा माओबादी केन्द्रका बामदेब क्षेत्री गोलाकार भित्रको हसिँया हथौडा चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ ।
रुपन्देही क्षेत्र नं. २ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापाले नेकपा एमाले सरकारले लुम्बिनी प्रदेशलाई २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको टिप्पणी गर्नुभयो । ‘राजधानी दाङमा नै छ भनौं भने सबै मन्त्रालय बुटवलमा छ’ भन्छन्,‘राजधानी बुटवलमा छ भनौं भने बोर्ड दाङमा लगेर राखिएको छ ।’ राजधानीलाई अधकल्चो बनाएर आफ्नो खेल तमासा देखाउनेलाई अबको चुनावमा जनताले पराजित गरेर सजाय दिनु पर्ने उहांले बताउनुभयो ।
यस्तै रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)ले बुटवलबाट राजधानी सार्नेलाई जनताले जवाफ दिने दिन मंसिर ४ नजिकिँदै आएको बताउनुभयो । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले एमालेका नेताहरुले के कारणले बुटवलबाट राप्तीको किनारमा राजधानी सारे भन्ने जनतालाई जवाफ दिनु पर्ने बताउनुभयो । राप्तीको किनार राजधानीका लागि बुटवल भन्दा कसरी उपयुक्त थियो केसीले प्रश्न गर्दै भन्नुभयो –‘के सुरक्षा, शिक्षा, स्वास्थ्य, पुर्वाधारको दृष्टिकोणले उपयुक्त थियो ?’
आफ्ना प्रतिस्प्रधि एमाले नेता लिला गिरीले यहाँका जनतालाई झुक्काएर राप्तीको किनारमा राजधानी सार्नुको कारण बारे जनतालाई जवाफ दिनु पर्ने भन्दै केसीले जनतालाई झुक्याउने नेतालाई मंसिर ४ गतेको आम निर्वाचनमा पराजित गरेर सजाय दिन आग्रह गर्नुभयो । उम्मेदवार केसीलाई घरदैलोको क्रममा बृद्धबृद्धा तथा खेतवारीमा काम गरिरहेका मतदाताले आफु नजिक बोलाउंदै विजयको शुभकामना ब्यक्त गरेका थिए ।
गठवन्धनका उम्मेदवारहरु निरन्तर घरदैलोमा
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले आफ्नो घरदैलोलाई निरन्तरता दिईरहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा(सुर्यवंशी) तथा प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घबहादुर केसी(कुमार) र २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले घरदैलोलाई निरन्तरता दिनुभएको छ ।
शनिबार तिलोत्तमा १ का बिभिन्न स्थान शारदा स्कुल, शान्तिनगर, शाईराम टोल, शान्ति चोक, बेलको रुख, सातघरे मगर टोल, बनबाटिका, फाएरलाईन, शान्तिचोक, पाउरोटी फ्याक्ट्री हुँदै बुद्धपथमा आएर कोणसभा गरि घरदैलो समापन गरिएको नेपाली कांग्रेस तिलोत्तमा १का सचिव मनोज टण्डनले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस तिलोत्तमा १का सभापति जवानसिंह ठकुरीको नेतृत्वमा भएको घरदैलोमा स्थानीयहरुले नयाँ उम्मेद्वारलाई मतदान गर्ने बताएको सचिव टण्डनले बताउनुभयो ।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादु थापा(सुर्यवंशी) र प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घ बहादुर केसी(कुमार)ले नेकपा एमालेबाट देश पार नलाग्ने बताउँदै देश र संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उम्मेद्वारहरुले नेकपा एमालेले जनतालाई प्रलोभनमा पारेर झुक्कयाउने कामहरु मात्रै गर्ने गरेको बताउँदै सत्यको पछि हिड्ने उम्मेद्वार(गठबन्धनका उम्मेद्वार)लाई बिजयी बनाउन आग्रह गर्नुभयो । घरदैलोका क्रममा विभिन्न ठाउंमा आयोजित कोणसभामा नेपाली कांग्रेसका नेता काजीमान श्रेष्ठ, जनमुक्ति पार्टीकी नेत्री गिता सारुलगायतले बोल्दै गठबन्धनका उम्मेदवारलाई विजयी वनाउन आग्रह गर्नुभयो ।
यस्तै प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा १२ का बिभिन्न स्थानमा घरदैलो गर्नुभएको छ । घरदैलोमा मतदाताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उम्मेदवार क्षेत्रीले घरदैलो संगै बिभिन्न धार्मिक संघ संस्थाका अगुवाहरुसंग भेटवार्ता गर्नुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय, ज्योति चर्च गोलपार्कका अगुवाहरुसंग भेटगरी बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन आग्रह गर्नुभयो । चर्चका अगुवाहरुले बिजयी भएपछि क्रिष्टमसको दिनमा सार्वजनिक बिदा दिन माग गरेका थिए भने बिश्व बिद्यालयका अगुवाहरुले बिजयी भएपछि निर्माणाधिन भवन सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।