पत्रकारितामा शुद्धिकरण आवश्यक छ : अध्यक्ष पोखरेल
बुटवल, ६ कात्तिक । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले अब पत्रकारितामा शुद्धिकरणको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आईतबार बुटवलमा भएको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकार महासंघले सदस्यता शुद्धिकरणका लागि निर्देशन जारी गरेको बताउनुभयो ।
उहांले पत्रकारिता पेशा छाडेका, बिस्थापित भएका र अन्य पेशामा गइसकेकाहरुलाई बिदाई गर्न सुरु गर्न महासंघले निर्देशन जारी गरिसकेको बताउनुभयो । अध्यक्ष पोखरेलले निर्वाचन नजिकै आइसकेकाले पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिन आग्रह गर्नुभयो । उहांले राजनीतिक दलहरुले पत्रकारहरुलाई प्रयोग गर्ने भएकाले तटस्थाको चिरहरण हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारहरुलाई आत्मसमिक्षा गर्दै करेक्सन गर्दै अघि बढ्न आग्रह गर्दै उहांले पछिल्लो समय लगानीको नाममा मिडिया कन्टेन्टलाई परास्त गर्न थालिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि बुटवल उपमहानगरले सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहांले बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा पत्रकारिताको गुणस्तर वृद्धि गर्नको लागि कामहरु गरिरहेको बताउदै आवश्यक छलफल गर्न तयार रहेको बताउनुभयो ।
पत्रकारिता भित्रको मर्म र धर्म भित्र रहेर बिना पुर्वाग्रह समाचार प्रकाशन गर्न समेत उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र मिडिया एक अर्काका परिपुरक भएकाले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले देश बिकासमा पत्रकारको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य समाचार निडरताको साथ प्रकाशन गर्न आग्रह गर्नुभयो ।
साधरणसभाको उद्घाटन सत्रमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता क्षेत्रको बिकासको लागि स्थानीय प्रशासन साथमा रहेको बताउनुभयो । पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले समाजले गरेको प्रश्नको जवाफ दिनेगरी काम गर्न पत्रकारलाई आग्रह गर्दै निर्वाचनको समयमा राजनीतिक दलले प्रयोग गर्न खोज्ने भएपनि पत्रकारितालाई जिवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्काले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईंले महासंघ सबै पत्रकारलाई जोड्ने सस्था रहेको बताउँदै नयां पुस्ताको क्षमता अभिबृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । महासंघका पूर्व अध्यक्ष दिपक ज्ञवालीले काठमाडौ बाहिर रुपन्देहीका पत्रकार अब्बल रहेको बताउदै नयाँ जनशक्तिको क्षमता अभिबृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसिले समयानुकूल पत्रकारिताको राशी वृद्धि गर्नको लागि पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सञ्चार क्षेत्रले स्वतन्त्रताको नेतृत्व गरेको बताउंदै नागरिक आन्दोलनको प्रतिनिधित्व गर्ने क्षेत्रलाई मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले आफ्नो आचरण पनि परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, सल्लाहाकार खिमानन्द भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षहरु विश्वास ढकाल, अमृता अनमोल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
उद्घाटन सत्रपछिको बन्दसत्रले सचिव बिनोद परियारको सांगठनिक र कोषाध्यक्ष सञ्जय सौगातको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै साधरणसभाले १२ बुदे प्रस्ताव समेत पारित गरेको छ । सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने, पत्रकार र सञ्चार संस्था तथा समग्र सञ्चार क्षेत्रको सबलीकरण, दुर्घना बिमा, पत्रकारिता अध्ययनका लागि पहल गर्ने जस्ता बिषयहरु साधरणसभाले पारित गरेको छ । अमृता अनमोल, रेखा भुसाल र सरु राना रहेको ३ सदस्यीय प्रस्ताव लेखन समितिले सभामा प्रस्ताव पेश गरेको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभाबाट पारित प्रस्तावहरु :
१. स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र संचारक्षेत्रको विकास र सवलीकरण लागि भूमिका खेल्ने ।
२. पत्रकारहरुलाई श्रम अनुसार पारिश्रमिक पाउने आधार तय गर्न सञ्चारमाध्यमका सञ्चालक व्यवस्थापक र पत्रकारिहरुविच छलफल गरि श्रमजीवि पत्रकारहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने ।
३. पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विधागत तथा पुर्नताजगी तालिमहरु सञ्चालन गर्ने ।
४. नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारहरुको तत्तकालीन र दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि पत्रकार कल्याणकारि कोष बृद्धि गर्ने ।
५. पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बिमालाई निरन्तरता दिंदै निशुल्क स्वास्थ्य बिमाका लागि पहल गर्ने ।
६. कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर, पछिल्लो समय पत्रकारिता छाडेका वा अन्य पेशा व्यवसायमा संलग्नहरुलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धिकरण अभियान चलाईने ।
७. पत्रकारिता र आमसञ्चार बिषयमा बुटवलमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासंघको अगुवाईमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरि जग्गा व्यवस्थापन गर्ने ।
८. हाल भएका पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्ने ।
९. कोभिड लगायतका अन्य कारणबाट पेशाबाट पलायन पत्रकारहरुलाई पत्रकारितामा स्थापित गर्न सञ्चार माध्यमका सञ्चालक र सरोकारवालाहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरि समस्या समाधानमा पहल गर्ने ।
१०. पत्रकार आचार संहिताको पालना गराउँदै व्यवसायिक र मर्यादित पत्रकारिता गर्न सदस्यहरुलाई जिम्मेवार बनाउने ।
११. नयाँ पत्रकार उत्पादनका लागि सञ्चारमा रुची राख्ने, सिर्जनाशिल युवाहरुलाई पत्रकारितामा तालिम दिने ।
१२. पत्रकारका नाममा पत्रकारिताको मूल्य र मान्यता विपरित युटुब, अनलाईन सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्ने, समाजमा पत्रकारिताको विश्वास गिराउने गतिविधि गर्ने व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन राज्यलाई सहयोग गर्ने ।