बुटवल, २६ भदौ । बुटवल राजमार्ग चौराहा—गोलपार्क सडक निर्माणमा सहजीकरण गर्न गठन गरिएको समितिले बुटवल राजमार्ग चौराहा—गोलपार्क सडक मर्मत गरी डेन्सिटी लिने कार्य भदौ २७ गते साँझसम्म सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
सहजीकरण समितिको आइतबार बसेको बैठकले डेन्सिटीको रिपोर्ट हेरी गम्भीर वर्षाको कारणले कालोपत्रे गर्न नसकिने परिस्थितिबाहेक भदौ २९ सम्म प्राइम गरिसक्ने र सोको भोलिपल्ट कालोपत्रे गर्नुपर्ने र भदौ मसान्तसम्म एकलेयर कालोपत्रे नगरेमा निर्माण कम्पनीलाई कारबाहीको लागि पठाउने बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले विद्युत पोल गाड्ने कार्यलाई तीब्रता नदिएको पाइएकाले बढीमा ५ दिनभित्र विद्युत पोल गाडीसक्न नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुखलाई आवश्यक व्यवस्थापनको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
खानेपानी संस्थानबाट खानेपानीका पाइपलाईन विस्तार तथा उचित व्यवस्थापनको सक्रियताका लागि पाइपहरु चुहिएमा तुरुन्त प्राविधिक सहयोग पु¥याउने र पाइपलाईनको काम सम्पन्न गर्नका लागि र व्यवस्थापनका लागि संस्थानको प्रमुखलाई र आयोजनाको क्षेत्रभित्र टेलिफोनको पोल, तार र क्याबिनेट बक्स उचित व्यवस्थापन कार्यमा ढिलाई भइरहेको पाइएकाले ५ दिनभित्र नेपाल टेलिकमका प्रमुखलाई आवश्यक व्यवस्थापनका लागि जिम्मेवारी तोक्ने बैठकले निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकमा डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम बहादुर एसी, आयोजना कार्यालयका निमित्त प्रमुख सविता ज्ञवाली, खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टेलिकमका उपप्रबन्धक नेत्रनारायण खनाल, निर्माण कम्पनीका प्रतिनिधि सलिल अन्सारीलगायतको उपस्थिति थियो ।
