बुटवल, १७ भदौ । सिद्धार्थ राजमार्गको यातायात आवागमन ठप्प भएको छ । राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो । विहिबारदेखि ठप्प भएको बुटवल–पाल्पा सडक खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो झर्नुका साथै सडक भासिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार विहिबार साँझदेखि डाइभर्सन गरि सडक खुलाउने प्रयास जारी रहेपनि रातीदेखि परेको वर्षाले काम गर्न समस्या हुँदा बाटो खुलाउन समस्या भएको छ । विहिबारदेखि सडक अवरुद्ध भएपछि गुल्मीबाट आउने सवारीका साधनहरुलाई अर्घाखाँचीका विभिन्न सडकहुँदै गन्तव्यमा जान भनिएको छ भने स्याङ्जा पोखराबाट आएका सवारीहरुलाई मुग्लिन नारायणगढको सडकहुँदै जानका लागि आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक खुलाउनका लागि शुक्रबार विहानैदेखि प्रयास भइरहेको र सडक सुचारु नहुँदासम्म अन्य वैकल्पिक सडकहरुको प्रयोग गर्न आग्रह गरिएको छ ।