तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ४ डिंगरनगरस्थित श्रृङ्गेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको छ । करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आगामी २ महिनापछि निशुल्करुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो ।
शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । शुरुमा ५० जनाबाट शुरु गरी सयजनाहुंदै सरकारबाट जग्गाप्राप्तभएमा भविष्यमा एक हजारजनासम्म राख्ने लक्ष्य रहेको छ ।
केन्द्रलाई जेष्ठ नागरिकको संरक्षण केन्द्रको रुपमा विकास गर्ने,जेष्ठ नागरिकलाई तनावमुक्त बनाउन मनोरन्जन, सत्संग ध्यान, योगालगायतका सेवा दिइने केन्द्रका सचिव हरिप्रसाद कंडेलले बताउनुभयो ।
केन्द्रका कार्यवाहक अध्यक्ष यदुनाथ पाण्डेले आउदो २ महिनापछि केन्द्र सञ्चालनमा आउने र केन्द्रमा आउन जान निःशुल्क यातायातको व्यवस्था गरिने बताउनुभयो । भविष्यमा जेष्ठ नागरिक अस्पताल समेत बनाउने लक्ष्य रहेको पाण्डेले बताउनुभयो ।
श्रृङ्गेश्वर धामका अध्यक्ष तथा केन्द्रका संरक्षक ऋषि भण्डारीले केन्द्र सञ्चालनकालागि मासिक ५ लाख खर्च हुने भएकाले एक करोडको अक्षयकोष स्थापनागर्ने लक्ष्य रहेको भन्दै पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
गुल्मेली सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वर धाम र जेष्ठ नागरिक मिलन केन्द्रका पदाधिकारी, सदस्य र विभिन्न चन्दादाताको करिब ५ करोड लगानीमा धाम र जेष्ठ नागरिक मिलन केन्द्र बनेको हो । धाममा पशुपतिनाथलगायतका मन्दिरहरु, बर पिपल र स्वामीका रुखको हरियालीयुक्त चौतारी, ६८ फिट अग्लो त्रिशुल, पानीको फोहरा, बालउद्यान, कार्यालय भवनलगायतका संरचनाहरु निर्माण भएका छन् ।
धामको समग्र विकासका लागि गुल्मेली सम्पर्क समाजका निवर्तमान अध्यक्ष ईन्जिनीयर हिराबहादुर भलामी नेतृत्वको टिम र मिलन केन्द्र निर्माणका लागि केन्द्रका अध्यक्ष स्वर्गीय खेम पुन नेतृत्वको टिमको महत्वपुर्ण योगदान रहेको धामका संरक्षक ऋषि भण्डारीले जानकारी गराउनु भयो ।
केन्द्रलाई भविष्यमा एक हजार जना क्षमताको बनाई प्रदेशकै नमूना बनाउनका लागि आवश्यक वजेट र जग्गाको ब्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी छ ।
गुल्मेली सम्पर्क समाजको नेतृत्व र संरक्षकत्वमा धाम, र सहकारी संस्था सञ्चालनमा छन् भने जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको छ । धाम परिसरमा समाजसेवी तथा दाताहरु चुन्नुप्रसाद पौडेल, बालकृष्ण भुसाल, ऋषि भण्डारी, पशुपति घिमिरे, तुल्सीराम कँड्ल, यदुनाथ पाण्डेलगायतले मन्दिर तथा अन्य संरचना निर्माणमा योगदान पुर्याउनुभएको छ ।