बुटवल, २९ साउन । नेपालको पशुपन्छी तथा मत्स्य विकासको समग्र प्रवद्र्धन र विकासकालागि प्रतिनिधि सभामा पेश भएको पशु स्वास्थ्य तथा परिषद विधेयक पारित गर्न सरोकारवालाले माग गरेका छन् ।
पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री परिषद एंव कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विभिन्न सरोकारवालाहरुसंगको छलफल पश्चात तयार पारिएको विधेयक पारित नहुंदा ६० हजार भन्दा बढी विज्ञ तथा प्राविधिक जनशक्ति समस्यामा परेको भन्दै पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा कार्यरत संस्थाहरुले सामुहिक रुपमा विज्ञप्ति जारी गर्दै विधेयक पारित गराउन पहल गरिदिन सांसदहरुलाई अनुरोध गरेका छन् ।
नेपाल एनिमल साईन्स एशोसिएसनका अध्यक्ष डा. श्रीराम नेउपाने, नेपाल पाराभेटेरीनरी एण्ड लाईभटक एशोसिएसनका कार्यवाहक अध्यक्ष डम्वर बहादुर बम, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनकबहादुर रावलद्वारा जारी सम्युक्त विज्ञप्तिमा यही साउन २३ गते नेपाल भेटेरिनरी एशोसिएसनवाट जारी विज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । नेपालमा दर्ता रहेका १ हजार ५ सय पशु चिकित्सक बाहेकका ६० हजार भन्दा बढी पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा क्रियाशिल विशेषज्ञ तथा प्राविधिक जनशक्तिको नियमन र व्यवस्थापनमा प्रस्तुत विधेयक कोशेढुगां सावित हुने ती ३ वटा संस्थाले विज्ञप्ति मार्फत औल्याएका छन् ।
उनीहरुले पशु चिकित्सा परिषद ऐन २०५५ ले समेत पूर्ण रुपमा समेट्न नसकेका पशुपन्छी तथा मत्स्य विकास, पशु प्रजनन्, पशु आहार पशुपन्छी व्यवस्थापन, पशुपन्छी बजार व्यवस्थापन, पशु स्वास्थ्य तथा पशु सेवा व्यवस्थापन, चरन तथा घाँसेवाली विज्ञ एंव प्राविधिकहरुलाई समेटेको विधेयकको विरोध गर्नु भनेको नेपालमा पशुपन्छी तथा मत्स्य विकासको संभावनालाई समाप्त पार्नु भएको ठहर ती संस्थाले गरेका छन् ।
