बुटवल, १७ साउन । राष्ट्रिय वाणिज्य बैंकले बुटवल उपमहानगरपालिकामा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको एक्सटेन्सन काउण्टरको मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
काउण्टरको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले एक्सटेन्सन काउण्टरको स्थापनाले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्ना सेवालाई समयको मागअनुसार प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले देशभरका २ सय ५८ शाखाबाट ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको र अझै स्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाउनुुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपमहानगरको काउण्टरको सेवा स्तरीय बनाउन आग्रह गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल आसपासका उद्योगी व्यवसायीलाई समेत लाभ हुने गरी सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।
कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रबन्धक दिनेश गौतमको अध्यक्षता, उपप्रबन्धक जितेन्द्र सिंह थापाको सञ्चालन र नायब प्रमुख कार्यकारी अधिकृत सरस्वति अधिकारीको स्वागतमा भएको थियो ।
एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने बैकले जनाएको छ ।
