लुम्बिनी, १७ साउन । लुम्बिनी विकास कोषको परिषद बैठकले कोषको गुरूयोजना विपरित रिसोर्ट संचालनका लागि कोष मातहतको जग्गा दिने भनी भएको निर्णय खारेज गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले जग्गा दिने निर्णय खारेज गरेको हो ।
बैठकले क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजना विपरित ‘क्याम्पेन ग्राउण्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो ।
परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठले लुम्बिनी घुम्न आउने पर्यटकहरुको सुविधा र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको बताउनुभयो । विद्युतीय बस सञ्चालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि आउने पर्यटकलाई सहज हुनेछ ।
कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।