बुटवल, १५ साउन । रुपन्देही प्रहरीले ब्यक्ति हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. २ घर भई हाल बुटवल १३ बेलवास बस्ने बर्ष ४४ को विष्णुबहादुर पाण्डेको हत्या गरी फरार रहेका जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ कलौनी बस्ने वर्ष ४३ को दिपक भन्ने कुलचन्द्र गौतमलाई पक्राउ गरेको हो । पाण्डेको हत्या गरी फरार रहेका गौतमलाई आज विहान करिव ९ ३० बजेको समयमा नेपाल भारत सिमाना बेलहियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटना विवरण अनुसार मृतक पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नं. को ट्रक रु. १६ लाख मुल्य कायम गरी पैसा पछि दिने शर्तमा पाण्डेले गौतमको नाममा नामसारी गरिदिएका थिए ।
यही साउन ९ गते ट्रक पास गर्न गौतम संग सगै हिडेका पाण्डे सोही दिनदेखि सम्पर्क विहिन भएपछि पाण्डेकी छोरी सिला पाण्डेले साउन ११ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिए पछि प्रहरीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोली र स्थानीय मानिसहरुको सहयोगमा यही साउन १४ गते अपरान्ह ३ वजेको समयमा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. २ डाँडाकटेरी स्थित सिद्ध सामुदायिक बनमा पाण्डे मृत अवस्थामा फेला परे ।
घटनाको अनुसन्धानको क्रममा पैसा पछि दिने शर्तमा पाण्डेको नाममा रहेको ट्रक आफ्नो नाममा नामसारी गरेका गौतमले पैसा बुझाउन नसकिने भएपछि योजनावद्ध रुपमा साउन ९ गते गौतमले पाण्डेलाई आफ्नो घर अर्घाखाँची लगेको र भोलीपल्ट घरबाट कालिज मार्न भनी जंगलमा लगेर पछाडीबाट टाउकोमा फलामको रडले प्रहार गरी हत्यत गरेर सोही स्थानमा रहेको भिरबाट तल खसालेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पाण्डेको हत्या गर्न प्रयोग गरेको फलामको रड बुटवल २ मैनावगर स्थित निज गौतमले संचालन गरेको जय मोटरपार्टसमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रड बरामद गरी हत्यामा संलग्न गौतमलाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर के. सी. ले बताए ।

