जनप्रतिनिधि र कर्मचारी समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता
बुटवल, १५ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट सरुवा भई आएका बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आइतबार पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकारका उपसचिव पन्थी बाणगंगा भन्दा अघि रुपन्देहीको सैनामैना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले पन्थी सहित ३४ जना उपसचिवको सरुवा गर्दा पन्थीले बुटवल उपमहानगरको जिम्मेवारी पाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले एक कार्यक्रमका बीच स्वागत गरेका थिए ।
बुटवल उपमहानगरमा पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बुटवललाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री उपमहानगरको रुपमा पहिचान दिलाउने बताए । नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने पन्थीले प्रतिबद्धता जनाए ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई निर्देशन दिए । स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारी समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै प्रमुख पाण्डेले जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको महत्वपुर्ण भूमिका रहने बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
बुटवल उपमहानगरपालिका ४ लक्ष्मीनगर निवासी पन्थीसंग देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेको अनुभव छ । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि समेत बनाएका छन् ।
