सुनसरी, १५ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार चारजना मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने वर्ष २० को सुमन तामाङलाई कुटपिट गरी कर्तब्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका कसुरदार मध्ये वविनारायण चौधरी, सुसिल राई र अनिष भन्ने राज मगरलाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार गत जेठ ५ गते रातको समयमा ईटहरी उपमहानगरपालिका ४ स्थित बुढीखोला छेउको खाली जग्गामा सुसिल राई, अनिष भन्ने राज मगर, ववि नारायण चौधरी, विर्ख भन्ने डम्वर बहादुर भुजेल र अर्जुन वि.क.ले सुमन तामाङलाई ईटा लगायत हातहतियार टाउको समेतमा प्रहार गरी गम्भीर घाईते बनाई छाडेका थिए । घाईते अबस्थामा रहेका तामाङलाई प्रहरीले उद्दार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा निज तामाङको मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानमा तामाङको कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका कसुरदारहरु मध्ये चौधरी, राई र मगरलाई पक्राउ परी अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सूचना अधिकृत विष्णुबहादुर खड्काले बताए ।
यस्तै उक्त कसुरमा संलग्न मुख्य योजनाकार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका ४ गैरीगाँउ बस्ने बर्ष २८ को विर्ख भन्ने डम्वर बहादुर भुजेल पनि घटना पश्चात फरार रहेकोले खोज तलास गर्ने क्रममा यही साउन १३ गते निजकै घरगाउँमा लुकिछिपी वसेको अबस्थामा प्रहरीले पक्राउ गरी आज आईतबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।